काठमाडौँ,२२ साउन ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति चाडपर्व सुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले सरकारलाई उक्ति दिने निर्णय गरेको हो ।
बैठकमा समिति सभापति सोनाम गेल्जेन शेर्पा बजारमा दैनिक उपभोग्य तथा अतिआवश्यक वस्तु तथा सेवामा हुने गरेको कृत्रिम अभाव र कालोबजारीको समस्याले आम नागरिक आक्रान्त भइरहेको भन्दै नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए ।
नियमित बजार अनुगमन गर्न र सर्वसाधारणको सहज पहुँच हुनेगरी तत्काल सुपथ मूल्य पसलको समयअवधि र क्षेत्रगत दायरा बिस्तार गर्न समितिले निर्देशन दिएकाे छ ।
देशभर गुणस्तरीय वस्तु तथा सेवामा सहज रूपमा आपूर्ति गरी कृत्रिम अभाव र कालोबजारी रोक्न पनि समितिले निर्देशन दिएको छ ।
उनले उपभोक्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक पसलमा मूल्यसूची अनिवार्य रूपमा राख्ने व्यवस्था र तीन तहको सरकारसँग समन्वय गरी प्रभावकारी बजार अनुगमन गर्न नेपाल सरकालाई निर्देशन दिने निर्णय भएको बताए ।






