काठमाडौं,२१ साउन ।
आज देशभरकाे माैसम आंशिक देखि साधारणतया बदली रहने माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको पुर्वानुमान छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।