काठमाडौँ,१७ साउन ।
२०४७ सालको संविधान पुन:स्थापनासहितका साझा एजेण्डा राखेर नेपाली कांग्रेस वीपी र राष्ट्रिय शक्ति नेपालबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

भ्रष्टाचार र कुशासन अन्त्य,२०४७ को संविधान र संवैधानिक राजसंस्था पुन: स्थापना लगायत एजेण्डासहित संसद् बाहिर रहेका दुई राजनीतिक दल कांग्रेस वीपी र राष्ट्रिय शक्ति नेपालबीच बिहीबार कार्यगत एकता सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाली कांग्रेस बीपी सभापति सुशीलमान शेरचन र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले कार्यगत एकता सम्झौतामा हस्ताक्षर गरेका छन् । शेरचन कांग्रेसबाट २०५१ को प्रतिनिधिसभा चुनावमा मुस्ताङबाट निर्वाचित भएका थिए । उनि पूर्व पर्यटन सहायकमन्त्री हुन् ।

विष्ट पञ्चायत र बहुदलकालमा पटक-पटक मन्त्री भएका थिए । २०४६ पछि कांग्रेस, स्वतन्त्र, राप्रपा हुँदै विष्ट राष्ट्रिय शक्ति नेपाल नामक अभियान मार्फत २०४७ को संविधान पुन: स्थापना गर्ने अभियानमा लागेका थिए । नेपाली कांग्रेस वीपीका सभापति शेरचनले आफ्ना माग जनस्तरसम्म पुर्‍याउन कार्यगत एकतासँगै दसैं, तिहार, छठ, नेपाल सम्वतलगायत प्रमुख चाडपर्वलगत्तै १ महिना लामो आन्दोलन गरिने जानकारी दिए ।

कार्यगत एकता घोषणा कार्यक्रममा पूर्वमन्त्री बिष्टले समान विचार भएका दुई दलबीच सहकार्य गरेर आन्दोलनमा जान लागिएको बताए । अहिलेको व्यवस्थाले देश अघि बढ्न नसक्ने उनले बताए ।

‘अब आन्दोलनको खाका तयार पारेर अगाडि बढ्न लागेका छौं । आन्दोलन भनेको दहीचिउरा खाने कुरा पनि होइन, मकै भट्मास खाने कुरा पनि होइन, यो गाह्रो कुरा छ,’ बिष्टले भने, ‘आन्दोलन किन गाह्रो छ भने बरु ज्यान मार्न सजिलो छ, भद्र अवज्ञा आन्दोलन गर्न गाह्रो छ । भद्र अवज्ञा आन्दोलन त सिकाएको कांग्रेसले नै हो । हामी पूर्व पञ्चले जानेका थिएनौं यस्तो कुरा । हामी कांग्रेसले नै सिकाएको कुरामा अघि बढेका छौं ।’

नेपाली कांग्रेस वीपीका सभापति शेरचनले कांग्रेस संस्थापक नेता वीपी कोइरालाको असली अनुयायी आफूहरु रहेको भन्दै वीपीको समाजवादी बाटो र राजासहितको प्रजातन्त्रको लाइन नै देशका लागि अपरिहार्य रहेको बताए ।