काठमाडौं,१३ साउन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसंग पूर्व नेकपा (बहुमत)को धर्मेन्द्र बाँस्तोला(कंचन) समुहले एकता भंगको घोषणा गरेपनि आफ्नै सहकर्मीले साथ नदिएपछि उक्त समुह कमजोर देखिएको छ ।
पूर्व बहुमतको अधिकाँश नेता कार्यकर्ता क्रान्तिकारी कम्युनिस्ट पार्टीमै एकताबद्ध हुने अवस्था आएपछि बाँस्तोला समुह राजनैतिक रुपमा मात्र नभई सांगठनिक रूपमा समेत कमजोर देखिएको हो ।
बाँस्तोलालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले अनुशासनको कारवाही गरेको छ । पूर्व बहुमत निकट स्रोतले जानकारी दिए अनुसार सहसंयोजक धर्मेन्द्र बाँस्तोला कंचनको अधैर्यतालाई साथ दिएर नेकपा(बहुमत) ब्युताउनु राजनैतिक गल्ती हुन सक्ने भन्दै अधिकाँशले मोहन बैद्य किरणको परिपक्व नेतृत्व रोज्ने अवस्थामा पुगेका हुन् ।
बाँस्तोलाको एकता भंगको घोषणालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले अप्रत्यासित भन्दै आएको छ ।
साउन १ गते बाँस्तोला सहित नेताहरु उदय बहादुर चलाउने , गुणराज लोहनीलगायतले एकता भंग गरेको पत्र बुझाएर नेकपा (बहुमत) ब्युताएको घोषणा गरेका थिए ।
पार्टी एकताको बटमलाइन अनुसार असार ११ देखि १६ सम्म सम्पन्न बैठकमा संयोजक बैद्यले नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गरेर बैज्ञानिक समाजवादमा जाने कार्यदिशा पेश गरेका थिए । उक्त लाइनको बिरुद्ध बाँस्तोलाले बैज्ञानिक समाजवादको समानान्तर दस्ताबेज ल्याएर बैद्यलाई बिस्थापन गर्न आएको उद्घोष गरेका थिए ।
उक्त उद्घोषलाई बैठकले जनवादी केन्द्रीयताको तरिकाले निर्णय लिएपछि केही दिन पछि बाँस्तोला समुह बाहिरिएको घोषणा गरेको थियो ।
संयोजक बैद्यको कार्यदिशाको पक्षमा पूर्व बहुमतकै बैचारिक नेता हेमन्त प्रकाश ओली ‘सुर्दशन’ सहितका अधिकाँश प्रदेश संयोजकहरुले समर्थन गरेर एकता जोगाउन लागेपछि बाँस्तोला समुह कर्नरमा परेको थियो । साथमा बैशाखमा एकता गरेको पूर्व नेकपा(मशाल)ले पनि कार्यदिशामा बैद्यको मुल लाइनलाई साथ दिएको साे पार्टीले जनाएको छ ।
महाधिबेशनको मिति तय भइसकेको अवस्थामा बाँस्तोला समुह बाहिरिनु राजनैतिक इमान्दारीता समेत नदेखिएको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरुकाे भनाइ छ ।
पूर्व बहुमत पक्षका १०२ सहित ३०५ सदस्सीय केन्द्रीय समितिमा करिब ४५ केन्द्रीय सदस्य मात्रै लिएर बाँस्तोला बाहिरिएकाे क्रान्तिकारीकाे आकलन छ ।
बाँस्तोला नेतृत्वमा पूर्व बहुमतबाट नेकपा(देशभक्त), नेकपा(माओवादी) श्रमीक कम्युनिस्ट पार्टीलगायतका पार्टी बनिसकेका थिए । ‘पटक पटकको फूट र असन्तुष्टि पछि करिब ४५ बढी केन्द्रीय सदस्य लिएर बाँस्तोला बाहिरिनु पर्ने अवस्था आउनु दुखद रहेको पुर्व बहुमतका एक सचिवालय सदस्य बताउछन् । ‘विचार राजनीति प्रमुख बिषय रहेछ’–उनी भन्छन्–’ राजनीतिले संख्या निर्धारण गर्दाे रहेछ ।’
बाँस्तोला समुह सबै प्रदेशमा नोक्सान सहित बाहिरिएको साे पार्टीको दाबी छ । युवा बिद्यार्थी संगठनमा नोक्सानै भएपनि नेतृत्व आफ्नो पक्षमा भएकोले केही राहत महसुस गरेको बाँस्तोला समुहले सबै प्रदेशमा सबै केन्द्रीय सचिवालय र केन्द्रीय सदस्य फर्काउन सक्ने अवस्थामा देखिएको छैन् ।
उपत्यका, लुम्बिनी र सुदुरपश्चिमका सचिवालय सदस्य सहित अधिकाँश केन्द्रीय सदस्यहरुले बाँस्तोलालाई छोडेर बैद्यको नेतृत्वलाई सहयोग गर्ने निष्र्कषमा पुगेको स्रोतले जानकारी दिएको छ ।
बाँस्तोलाकै बिद्यार्थी संगठनबाट पनि करिब एक दर्जन नेताले बैद्यको नेतृत्व रोजेकाे बताइएको छ ।






