काठमाडौं,१३ साउन ।
आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कुनै-कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि अलि सक्रिय हुने बताए । त्यसक्रममा आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपास नै छ । तर अघिल्लो दिनको तुलनामा मनसुनी गतिविधि केही सक्रिय हुने सम्भावना छ ।
गत १२ घण्टाको अवधिमा सिन्धुपाल्चोकको मानेखर्कमा १४१.६ र ढुंगेमा ११७ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । यसैगरी लम्जुङको बेसिंशहरमा १०२.४ र खुदीबजारमा १००.३ मिलिमिटर वर्षा मापन भएको छ ।
आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
मंगलबार राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।