गोरखा,१२ साउन ।
गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँकी ४५ वर्षीया रनमाया गुरुङको सदगत गरेर गाडिएको शव ६ दिनपछि उत्खनन् गरिएको छ । मृत्यु शंकास्पद देखिएकाे भन्दै जातीय परम्पराअनुसार सदगत गरी सोही ठाउँको चियानडाँडामा गाडिएको स्थानबाट ६ दिनपछि शवको उत्खनन् गरिएको हो ।
रनमाया साउन ४ गते आफ्नै घरभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनापछि भेला भएका स्थानीयसँग उनका श्रीमान् मारज गुरुङले झुण्डिएर मृत्यु भएको बताएका थिए । आत्महत्या नै भएको परिवारको दाबी पछि साउन ५ गते जातीय परम्पराअनुसार शव गाडेर सदगत गरेको स्थानीयले बताएका छन् ।
मृतकको फोटो हेर्दा शरीरको बायाँ आँखा र नाकको बायाँपट्टि, पेटमा निलो दाग देखेको र घटना शंकास्पद रहेको भन्दै माइती पक्षले छानबिनका लागि प्रहरीमा निवेदन दिएका थिए ।
मृतक रनमायाका दाजु सुकपाल गुरुङले साउन १० गते प्रहरी चौकी सौरपानीमा छानबिनका लागि दिएको निवेदनका आधारमा प्रहरीले अनुसन्धान थालेको हो । घटनाबारे शुक्रबारमात्र जिल्ला प्रहरी कार्यालयमा जानकारी आएको जिल्ला प्रहरी गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।
इलाका प्रहरी कार्यालय जौबारी तथा गोरखा अस्पतालबाट गएको विशेषज्ञ चिकित्सक समेतको अनुसन्धान टोलीको उपस्थितिमा गाडिएको स्थानबाट शनिबार शवको उत्खनन् भएको श्रेष्ठले जानकारी दिए । शवको उत्खनन गरी मुचुल्कालगायतको कार्यपश्चात् पोस्टमार्टमको लागि फरेन्सिक मेडिसिन विभाग महारजगन्ज काठमाडौं पठाइएको डीएसपी श्रेष्ठले बताए ।





