काठमाडौं,१२ असार ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् ।
शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको उल्लेख गरे ।
अस्पतालहरूकाे व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको भन्दै उनलेे राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट पनि राम्रो परिणाम दिन सकिने जिकिर गरे ।
उनले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरु परादर्शी बनाउन आवश्यक रहेको बताए । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्नेमा उनलेे जाेड दिए ।
वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै उनलेे इमर्जेन्सी सेवा,अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अतिविशिष्ट सेवाहरुमा धेरे केन्द्रित गरिरहेको बताए । उनले वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनाउने गरी काम गरिरहेको दाबी गरे । बिरामीलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा केन्द्रित भई काम गरिरहेको उनको भनाइ थियो ।