प्रगति विवरण समेत दिन नसकेको आरोप

काठमाडौँ,१० साउन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको कार्य क्षमतामाथि सांसदहरूले प्रश्न उठाएका छन् ।

बिहीवार बसेकाे प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसदहरूले प्राधिकरणको नेतृत्वकाे कार्यक्षमता माथि प्रश्न उठाएका हुन् ।

प्राधिकरणको बर्तमान नेतृत्व आएसँगै मुलुकमा ७ भन्दा बढी हवाई दुर्घटना भएको भन्दै सांसदहरूले नेतृत्वमाथि प्रश्न उठाए ।

सांसदहरूले १९ महिनादेखि संसदीय समितिमा हवाई सुरक्षासम्बन्धमा भएका कामको परिणाम माग्दासमेत कुनै प्रगति विवरण समितिलाई दिन नसकेको भन्दै नेतृत्वको आलोचनासमेत गरे ।

इयूको कालोसूचीबाट हटाउन प्राधिकरणले अहिलेसम्म गरेको काम सन्तोषजनक नभएको भन्दै सांसदहरूले परिणाम आउने गरी काम गर्न नसकेको बताए ।

सांसदहरूले प्राधिकरणको जिम्मेवारी लिएपछि ७ वटा हवाई दुर्घटना हुँदा समेत प्राधिकरणको नेतृत्व जिम्मेवार नभएको भन्दै राजीनामा दिनुपर्ने बताए । नैतिकताका आधारमा नेतृत्वले राजीनामा गर्नुपर्ने उनीहरूकाे भनाइ थियो ।

प्राधिकरणको नेतृत्वले जिम्मेवारी लिनुपर्ने भए पनि सधैँ अरुलाई दोष दिएर पन्छिने गरेको भन्दै सांसदहरूले समितिमा नियमन र सर्भिस दिने निकाय फरक–फरक बनाउन आवश्यक रहेकोमा जाेड दिए ।

उनीहरूले नेपाली आकाश सुरक्षित छ भन्ने वातावरण बनाउन चाहिने ऐन कानून तत्काल बनाउन आवश्यक रहेको समेत बताए । समितिमा नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न गरे ।

उनले महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेदेखि ७ वटा हवाई दुर्घटना भइसकेको भन्दै महानिर्देशकले जिम्मेवारी लिनुपर्ने बताए । नेपाली आकाशमा आन्तरिकमात्र नभएर विदेशी जहाजसमेत दुर्घटनामा परेको उनलेे बताए ।

उनले अब प्राधिकरणको नेतृत्व फेर्नेसम्बन्धमा सोच्ने समय आएको बताए ।

नेकपा एमालेकी सचेतक सुनिता बरालले हवाई सुरक्षाबारे देश, सरकार र मुलुकको अभ्यास यस्तै हो भन्दै प्रश्न गरिन् । उनले जिम्मेवार निकायका प्रमुखहरूले परिणाम दिने कुरामा विषयान्तर गर्न खोजेको आरोप लगाइन् ।

उनले कोरियामा नेपाली जहाज उडान गर्ने विषय प्राविधिक समस्या देखाएर अड्काएर राख्न नहुने बताइन् । उनले प्राधिकरणको नेतृत्व र वायुसेवा निगमको नेतृत्वले सम्बन्धित निकायहरूसँग उडान गर्न तदारुकता नदेखाएको बताइन् । उनले दूतावासले प्रयास गर्दासमेत प्राधिकरण र नेपाल वायु सेवा निगमले काम नगरेको दाबी गरिन् ।

रास्वपा सांसद शिशिर खनालले प्राधिकरणमा प्रदीप अधिकारी महानिर्देशक भएपछिमात्रै ७ वटा जहाज दुर्घटना भएको भन्दै ७ वटा विमान दुर्घटनामा ११८ जनाको ज्यान गएको बताए ।

उनले पछिल्लो २ वर्षमा ७ वटा विमान दुर्घटना हुनुमा उड्डयन प्राधिकरणको नेतृत्वको कमजोरी रहेको कुरा तथ्यबाट स्पष्ट भन्न सकिने बताए । उनले ७ वटा हवाई दुर्घटनाबाट मृत्यु भएका ११८ जनाको नैतिक दायित्व कसले लिने भन्दै प्रश्न गरे ।

सांसद एकनाथ ढकालले पनि सौर्य एयरलाइन्सको दुर्घटनाका विषयमा प्राधिकरणका महानिर्देशक अधिकारी पन्छिन खोजेको आरोप लगाए । उनले उनले संसदीय समितिमा सांसदहरूले सोधिएका प्रश्नको जवाफ दिन सक्नुपर्ने नत्र पदबाट राजीनामा दिनुपर्ने बताए ।

उनले हवाई सुरक्षासम्बन्धी नियमनकारी निकायहरूको समितिमा आएको जवाफबाट सन्तुष्ट नभएको बताए। उनले नियमनकारी निकायका प्रमुखहरूले लिएको जवाफबाट आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको देखिएको आरोप लगाए ।

उनले कोरियामा नेपाली जहाज जान नपाउने तर कोरियाली जहाज नेपाल आउने भन्दै कोरियाली जहाज पनि रोक्नुपर्ने बताए ।

प्राधिकरणका महानिर्देशक अधिकारीले अहिलेसम्म भएका हवाई दुर्घटना र मृत्यु भएका ९६९ जनाको जिम्मेवारी लिने बताए । उनले सबै दुर्घटनाको नैतिक जिम्मेवारी आफ्नो भएको बताए ।

अहिले राज्यले गठन गरेको आयोग नै आधिकारिक भएको भन्दै उनले आयोगले छानबिन गरेर जसको गल्ती देखायो त्यसकै गल्ती हुने बताए ।