काठमाडौँ,९ साउन ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । दुर्घटनामा घाइते भएका चालक मनिष शाक्यलाई उद्धार गरी उपचारका लागि काठमाडौँ मेडिकल कलेज लगिएको छ । ।

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रवक्ता पाण्डेले बताए । शवहरू पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको उनलेे बताए ।

जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज ममर्तका लागि पोखरा पठाइएको पुष्टि गरे ।

विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको थियो ।

*यसअघिकाे समाचारमा प्रवक्ताले २२ जनाको मृत्यु भएको जानकारी गराएकामा पछि प्राधिकरणले विवरण सच्याएकाले सोहीअनुसार समाचार पनि क्षमायाचनासहित सच्याइएको छ ।
सम्पादक