काठमाडौँ,३१ असार ।
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै
मन्त्री पौडेलले एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

उनले क्यान्सर रोगबाट धेरै नेपाली जनता पीडित रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने बताए ।
‘काम गर्ने ठाउँमा आएको छु । विज्ञहरुसँग आवश्यक सुझाव लिएर अगाडि बढ्छु’, मन्त्री पौडेलले भने, ‘एकीकृत स्वास्थ्य प्रणाली सुदृढ बनाउन मेरो जोड रहनेछ ।’ मन्त्री पौडेलले छिटोछरितो ढंगबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ आफू कन्द्रित रहने उल्लेख गरे ।

मन्त्री पौडेलको राजनीतिक जिवन

नवनियुक्त स्वास्थ्य मन्त्री पौडेलको जन्म २०३१ चैत १४ गते आमा दुर्गादेवी र बुवा डिल्लीरमण पौडेलको सन्तानको रुपमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको हो ।

नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा सुरु गरेका
पाैडेल २०४६ सालको जनआन्दोलनमा सक्रिय भएका थिए ।

उनी २०५३ सालमा अमृत साइन्स क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए ।

लामो समय शैक्षिक परिवर्तनको पक्षमा रही विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै उनी २०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति समेत भए । समाजशास्त्रमा स्नातकोत्तर पौडेल हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत छन् । उनी २०७९ को संसदीय निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विसं २०६२/६३ को जनआन्दोलनका क्रममा उनले जेल सजायसमेत भोगेका थिए ।