काठमाडौँ,२९ असार ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री देवेन्द्रराज कँडेलले निवर्तमान सरकारको उथलपुथलका कारण व्यवस्थामाथि नै जनताले प्रश्न उठाउने परिस्थिति निर्माण भएकाले दुई ठुला दल मिल्नुपरेको बताएका छन् ।

आज राजधानी काठमाडौंमा आयाेजित एक कार्यक्रममा बाेल्दै उनले काँग्रेस–एमालेको विचार नमिले पनि जनतामा बढेको व्यवस्थामाथिको वितृष्णालाई सम्बोधन गर्न आफूहरू यो निर्णयमा पुगेको बताएका हुन् । उनले निवर्तमान सरकारमा नयाँ दलहरू सहभागी भएर पनि केही गर्न नसकेको बताए ।

‘नेपाली कांग्रेसको र एमालेको विचार पूर्व र पश्चिमजस्तै हो । हाम्रा विचार मिल्दैन । नमिल्दै गर्दा पनि विगतको सरकारको उथलपुथल र परिवर्तनले गर्दाखेरी आम जनताले यो सिस्टममाथि प्रश्न उठाउन लागेका छन् । केही नयाँ दलहरूले अवसर पाए, हामीले सरकारमा उनीहरूको पनि अनुहार देख्यौं,’– उनले भने ।

पछिल्लो समय आर्थिक मन्दीले गर्दा हरेक व्यक्तिहरु चपेटामा रहेको उनले बताए । आर्थिक मन्दीको पचेटा विकराल रहेको बेला सहकारीबाट जनता झनै प्रताडित हुनुपरेको उनले बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै सहकारीको रकम ठूलोमात्रामा हिनामिना गर्ने व्यक्तिसमेत सत्तामा पुगेको टिप्पणी गरे ।

नेपालमा विश्वकै उत्कृष्ट संविधान बने पनि लागू गर्ने क्रममा समस्या आएको बताए । विचार नमिल्दै गर्दा पनि संविधानमा देखिएका समस्या समाधानका लागि काँग्रेस–एमाले मिल्नुपरेको उनले बताए । ‘आफ्नै कम्युनिस्ट शक्तिसँग मिल्न नसक्ने राजनीतिक दलहरू आज लोकतान्त्रिक शक्तिसँग किन मिल्न गइराखेका छन् ? वा लोकतान्त्रिक शक्तिले पनि वामपन्थी शक्तिलाई लिएर किन सत्तामा जान परिरहेका छ ? किनभने हाम्रो निर्वाचन प्रणाली यस्तो भइदियो, हामीले संसारको उत्कृष्ट संविधान बनायौँ । तर, आज व्यवहारमा लागू गर्दै गर्दा त्यहाँ पनि कमीकमजोरी देखियो,’– उनले भने ।

समानुपातिक, समावेशी निर्वाचन प्रणाली राम्रो उद्देश्यसहित संविधानमा व्यवस्था गरिएको दाबी गर्दै उनले त्यसको दुरुपयोग भएको बताए । नेता कँडेलले नेताहरूले गणेश प्रवृत्तिका व्यक्ति, आफ्नो परिवार र नातागोताका व्यक्तिहरूलाई समानुपातको सिटबाट ल्याउन थालेको बताए । यस्तो प्रवृत्तिले व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको उनको भनाइ छ । काँग्रेस–एमालेको गठबन्धनमा बन्ने सरकारले संविधान संशोधन गरेर निर्वाचन प्रणालीलाई व्यवस्थित बनाउने उनको दाबी छ ।

काँग्रेस–एमाले नेतृत्वको सरकारले सहकारीसँग सम्बन्धित माफियाहरु सबैलाई जेल पठाउने उनको दाबी छ । उनले अहिले गृहमन्त्री लामिछानेलाई जति पीडा अहिले कसैलाई पनि छैन भन्ने कुरा हिजो सदनमा दिएको अभिव्यक्तिबाट पुष्टि भएको बताए ।