चितवन,२९ असार ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेका दुईवटा बसको खोजीमा वाटर ड्रोन प्रयोग गरिएको छ । सशस्त्र प्रहरी बालका गोताखोर हरुले शनिबार बिहानबाट वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर खोज्न थालेका हुन् ।
पाइपलाइन इन्फेक्सन मार्फत सोनार क्यामेराको प्रयोग गरेर खोजी कार्य थालिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए । वाटर ड्रोनको पनि प्रयोग गरिएकाे उनलेे बताए ।
बस खोज्न सशस्त्र प्रहरी बलका ९ जना गोताखोर सहितको टिम र नेपाली सेनाका सहित २८ जना गोताखोर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए । काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् । तर, शुक्रवार १५ घण्टा खोजी गर्दा पनि बस र यात्रुको अवस्था पत्ता लागेको छैन ।
शनिवार बिहानैबाट बसको खोजी कार्य थालिएको छ । नारायणगढ–मुग्लिङ सडक खण्डमा ठुलो पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा लगेको खोजीमा संलग्न सुरक्षा अधिकृतहरूकाे भनाइ छ । घटनास्थल नजिकै वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको एन्जल डिलसक्सको पर्दा र बच्चाको ट्रयाकसुट भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।
एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ ।
गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए । दुईवटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात रहेको छ ।






