काठमाडौँ,२७ असार ।
आज (बिहीबार)का लागि बाेलाइएकाे राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारण जनाउँदै सुचना टासेर स्थगित भएको हो ।

संघीय संसद्का महासचिव पद्यम प्रसाद पाण्डेयले बिहीबार सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ अनुसार राष्ट्रिय सभा अध्यक्षले असार ३० गते आइतबार सवा १ बजे बस्नेगरी बैठक निर्धारण गरेको जनाएका हुन् ।

राष्ट्रियसभाको बैठकमा बिहीबार बजेट आश्रित तीन वटा विधेयक पास गर्ने कार्यसूची थियो ।

अर्थमन्त्रीले संशोधन फिर्ता नलिएसम्म बैठकमै नआउने अडान लिएपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बैठक नै स्थगित गरेका हुन् ।

आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक प्रतिनिधिसभाले १६ असारमै पारित गरेको थियो । तर बजेट आश्रित विधेयकहरु राष्ट्रियसभा पुग्दा नपुग्दै प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको थियो ।

एमाले सांसद भगवती न्यौपानेले आर्थिक विधेयकको शेयर हस्तान्तरणमा कर नलाग्नेसम्बन्धी दफामा संशोधन प्रस्ताव दर्ता गरेकी छन् । यो संशोधन प्रस्ताव पास भए बजेट फेल भएको मानिने र प्रधानमन्त्री प्रचण्डमाथि राजीनामाका लागि नैतिक दबाव पर्ने कांग्रेस र एमालेका नेताहरुको बुझाइ थियो ।

कांग्रेस र एमालेको यो रणनीति बुझेरै अर्थमन्त्री वर्षमान पुनले संशोधन प्रस्ताव स्वीकार नगर्ने अडान लिए ।

अर्थमन्त्री पुनले संशोधन फिर्ता नलिएसम्म राष्ट्रियसभा बैठकमै नआउने सन्देश पठाए । त्यसलाई देखाएर राष्ट्रिय सभा अध्यक्ष दाहालले बिहीबार १ः१५ बजे बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरे ।

कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांगेस र एमालेका सांसदहरुले बैठक सुरु गर्न राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई दबाब दिएका थिए । तर राष्ट्रियसभा अध्यक्ष दाहालले ‘सम्बन्धित मन्त्रीलाई जवाफ दिन सदनमा उपस्थित हुने वातावरण नभएको’, भनेर बैठक नै स्थगित गरिदिए ।

एमाले सांसद गोपाल भट्टराई भने राष्ट्रिय सभाका अध्यक्षले बैठक स्थगित गर्नु गलत भएको बताए ।

अध्यक्षले बैठक राख्ने वा नराख्ने निर्णय गर्नुअघि अमुक प्रस्तावको पक्षमा बहुमत छ वा छैन भन्ने हेरेको भन्दै उनले भने, ‘संसद सञ्चालन गर्नका निम्ति अर्को मन्त्री आउनुभएको थियो । तर अध्यक्षले नै बैठक स्थगित गर्ने कुरा बेठीक भएको छ ।’

उनका अनुसार बैठक गर्दा पनि अर्थमन्त्री नआएको भए संशोधन प्रस्ताव स्थगित गर्न सकिन्थ्यो । तर राष्ट्रियसभा अध्यक्षले एकतर्फी बैठक स्थगत गर्नु गलत भएको उनको तर्क छ ।