बागलुङ,२७ असार ।
भारी वर्षाका कारण पहिरो खसेर राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

लोकमार्ग अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरो खसेर लोकमार्ग अवरुद्ध भएको हो ।

लोकमार्ग अवरुद्ध भएपछि पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायात ठप्प भएका छन् । सडक अबरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।

त्यस्तै बुधबार साँझदेखि परेको बर्षाले बागलुङ बजार जलमग्न भएको छ । लोकमार्गदेखि आएको भलले बागलुङ बजार जलमग्न भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

बजारको सडक ठाउँठाउँमा भत्किनुका साथै व्यापारीका पसलमा भल बस्दा लाखौँको क्षति भएको बताइएको छ ।

यसैबीच बागलुङ बजारको डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी करिडोर दुर्गन्धित बनेको छ । अविरल वर्षाका कारण बागलुङ–१ स्थित काठेखोला तिरमा रहेको पहिरोको पर्खाल भत्किँदा फोहोरले करिडोर पुरिएको हो ।

करिडोर पुरिएपछि मेसिन लगाएर फोहोर हटाए पनि यात्रा असहज बनेको छ ।