काठमाडौं,२५ असार ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटकपटक बालकोट-बूढानीलकण्ठ गरेको परिणाम अहिले भाेग्नु परेको बताएका छन्।

आज बसेकाे प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै केसीले पुस १० गते बूढानीलकण्ठबाट बालकोट पुगेर प्रधानमन्त्री बनेदेखि नै प्रचण्डको दशा सुरु भएको बताए ।

‘वर्तमान प्रधानमन्त्रीले खेल बुझ्नुभएन। पुस १० गते जहाँ पुग्नुभयो दशा त्यही दिन सुरु भयो। कतिपटक बालोकट– बुढानीलकण्ठ गर्नुभयो ? त्यही परिणाम अहिले भोग्दै हुनुहुन्छ। केसीले भने, ‘ लाटो खान्छ एक बल्ड्याङ, बाठो ३ बल्ड्याङ भनेजस्तै भयो ।’

ठूला पार्टीले नेतृत्व नगरेर सानो पार्टीलाई किन दिएको भनेर आफूले यसअघि पनि कुरा उठाएको उनले बताए ।

अहिलेको सरकारमा अर्थ र गृहजस्ता शक्तिशाली मन्त्रालय एमालेले नलिएकोप्रति टिप्पणी गर्दै केसीले भने, ‘दालमा काला हे भनेर मैले त्यतिबेलै अड्कल गरेको थिएँ। अब दुई ठूला पार्टी मिलेपछि हुनेवाला केही छैन। मुखको तीतो पोख्ने मात्र हो ।’