पाल्पा,२४ असार ।
नेपाली फिल्मी क्षेत्रका महानायक राजेश हमाल र नायक धिरेन शाक्यसहितको टोली विगत तीन दिनदेखी पाल्पामा पर्यटकीय स्थलहरूकाे भ्रमणमा ब्यस्त रहेका छन् ।

पाल्पाको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले ‘यात्रा नेपाल’ नामक अभियान अन्तर्गत नायकद्वय सहितको टोली पाल्पाका पर्यटकीय स्थलहरूकाे अवलोकन गरेका हुन् ।

भ्रमणका क्रममा उनिहरूले तानसेन स्थित अंग्रेजलाई युद्धमा हराएको खुसियालीमा वि.स. १८७६ मा निर्माण भएको भगवती मन्दिर, काजी अमर सिंह थापाले विस १८६३ मा निर्माण गरेको अमर नारायण मन्दिर, पुरानो परम्परागत तानसेन शहर, मखनटोल, पाल्पा दरवार संग्रहालय, पद्यम पव्लिक माध्यमिक विद्यालय, श्रीनगरपार्क तथा बन क्षेत्र, भैरव मन्दिर भैरवस्थान, त्रिभुवन बहुमुखी क्याम्पस लगायतका प्रसिद्ध क्षेत्रहरुकाे अवलोकन गरेका छन् ।

यसअघि उनिहरूले उनीहरुसहितको टोलीले पाल्पाको रामपुरको बेझाड बजार, कृत्रिम ताल तालपोखरा, १० अवतारको वालन नाच, नेपालकै ठूलो अम्रीसो बगान काउलेडाँडामा घुमफिर गरी स्थानीयवासीसँंग कुराकानी गर्दै फोटो खिच्दै रमाएका थिए ।

पाल्पा परापुर्वकालदेखि नै एक पर्यटकीय गन्तव्य स्थल रहेकाले पर्यटकीय चहल पहल यहाँको चहलपहल बढाउने, धेरै भन्दा धेरै मानिसलाई पाल्पाका रमणीय स्थलहरुको जानकारी गराउने र पाल्पामा घुम्न बोलाउने,धार्मिक ऐतिहासिक सबै किसिमका पर्यटकहरुलाई पाल्पा चिनाउने,पाल्पामा अन्तर्राष्ट्रिय स्तरका पर्यटकहरु भित्र्याउने मुख्य योजनाका साथ घुमफिर गर्दै हिडेको महानायक राजेश हमालले बताए ।

उनले भने ‘आफ्नो जन्मस्थान तानसेन निकै परिवर्तन भएको रहेछ, जन्म स्थानका साथीभाईसँगै घुम्न पाउँदा निकै रमाईलो लागेको छ । ’

अर्का नायक धिरेन शाक्यले देशका चर्चित सेलिव्रेटीहरुलाई पाल्पामा ल्याउने, घुमाउने, र पाल्पाको प्रचार–प्रसार गर्ने र पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने अभियानमा जोडिएको बताए ।

पर्यटनको मेरुदण्ड भनेको आफ्नो स्थानलाई राम्ररी चिनाउनु, आफ्नो स्थानप्रति अरुलाई आर्कषित गर्नु, धेरै भन्दा धेरै मानिसलाई आफ्नो स्थानमा भित्र्याउनु,आफ्नो क्षेत्रको कला संस्कृति, पहिचान, इतिहास, भेषभुषाले घुम्न आएका मानिसलाई आर्कषित गरेर खुसी बनाउदै स्थानीयवासीहरुलाई आयआर्जनसँग जोडेर जिविकोपार्जनलाई सहज र सजिलो बनाउने अभियानका साथ आफुहरु ‘यात्रा नेपाल’ मा रहेको यात्रा टोलिका संयोजक साकार प्रधानले बताए । यात्रा नेपालको क्रममा खिचिएका डकुमेन्ट्री प्रचार–प्रसार गरी पाल्पामा पर्यटकीय चलह–पहल बढाउन यो अभियान शुरु गरिएको व्यवस्थापक प्रकट नारायण श्रेष्ठले बताए ।

त्यसक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, दर्शन नेपालका सल्लाहकार सन्दिप राना,नेपाल रेडक्रस सोसाईटी पाल्पाका उप–सभापति भिमसेन कार्की, भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जन, तानसेन नगरपालिका– १ का वडा अध्यक्ष सुनिल बस्याल, वडा नंं २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ, वडा नंं ६ का वडा अध्यक्ष सागरमान महर्जन लगायतले सहजिकरण गरेका थिए ।