काठमाडौँ,२४ असार ।
केही दिन यता परेको अबिरल बर्षासँगै गएको बाढी पहिरोबाट धनजनको ठूलो क्षति भएको भन्दै सांसदहरूले बाढी, पहिरो प्रभावित तथा जोखिममा परेकालाई तत्काल उदार र उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सोमवार बसेकाे प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले सरकारसँग उक्त माग गरेका हुन् ।
अविरल वर्षाको कारण देशभर बाढी पहिरो गएकाले त्यसबाट प्रभावित जनतालाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न उनिहरूले माग गरे ।
उनीहरुले सरकारले विपद् जोखिमको लागि उचित राहत र उद्धारको लागि राम्रो व्यवस्था नदेखिएको भन्दै प्रभावित क्षेत्रका जनतालाई तत्काल उद्धार गर्न माग गरे ।
नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले बाढी पहिरोमा परेका मृतक तथा घाइतेहरूको परिवारलाई उचित राहत तथा उद्धार व्यवस्था गर्न माग गरिन् । थिङले राष्ट्रिय परिचयपत्र बनाउन विवाहित महिलाले सिन्दूर पुछ्नुपर्ने कार्य हिन्दु संस्कृति माथिको धावा भएको बताइन् । उनले हिन्दु संस्कृतिको पहिचान मेटिने गरी बनाउने राष्ट्रिय परिचयपत्रको भर्त्सना गर्ने बताइन् । थिङले राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दूर र पोते खोल्ने कार्य तत्काल बन्द गर्न माग गरिन् ।
बैठकमा नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले शनिवारको बाढी पहिरोबाट भएको मानवीय र सम्पत्तिमा भएको क्षतिको सदनलाई जानकारी गराउन माग गरेो । अहिलेसम्म सरकारले आफ्नो दायित्व पूरा नगरेको भन्दै उनले बाढी पहिरो पीडितलाई तत्काल गरेको राहतको व्यवस्थाका विषयमा पनि जानकारी दिन आग्रह समेत गरे ।
नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले बाढी पहिरोमा परेकाहरूका लागि आवश्यक राहत र क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले नेकपा एमाले लगायत अन्य दलहरूले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदा समेत प्रधानमन्त्री नाटकीय ढङ्गले अघि बढेको बताइन् ।
नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले बाढी र पहिरोको कारण मुलुकमा सबै सडकहरू अवरुद्ध भएको बताए । उनले बाढी पहिरो पीडितहरूका लागि सरकारले उचित राहत र उद्धारको व्यवस्था गर्न नसकेको भन्दै तत्काल व्यवस्था गर्न माग गरे । उपत्यकाभित्रका समेत सडक तथा बस्तीहरू जोखिममा रहेको उनले बताए ।
त्यस्तै, नेपाली कांग्रेसकै सांसद सपना राजभण्डारीले बाढी पहिरोमा परेकाहरूलाई सरकारले तत्काल उद्धार गर्न माग गरिन् । उनले काठमाडौँ उपत्यकामा समेत केही स्थानहरू डुबानमा पर्दा सर्वसाधरणहरुले दुःख कष्ट भोग्नुपरेको बताइन् । उनले काठमाडौँ उपत्यकामा डुबान नहुने गरी दीर्घकालीन समाधानको खोजी गर्न आवश्यक रहेको समेत बताइन् ।
नेपाली कांग्रेसकी सांसद सीता मिजारले बाढी पहिरोको जोखिममा परेका नागरिकलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले विपद्मा परेका सर्वसाधारणलाई आपत्कालीन उपचारका लागि हवाई एम्बुलेन्सको विशेष व्यवस्था गर्न पनि माग गरिन् ।