Share this News on Social Networking Pages

काठमाडौँ,१८ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियमित काम जारी राख्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केही मन्त्रीहरूसँग छलफल गर्दै मिडियामा सरकार फेरबदलको कुरा आउँदैमा आफ्नो काम नछोड्न आग्रह गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिए ।

अहिलेसम्म कुनैपनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नियमित कामहरू जारी राख्न भनेको उनले बताए ।

मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्रीसँग केही मन्त्रीहरूले भेटघाट गरेको जोशीले बताए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले कुनै दलले समर्थन फिर्ता लिए संवैधानिक व्यवस्था अनुसार संसदमा विश्वासको मत लिने प्रक्रियामा अघि बढ्ने बताएको उनलेे उल्लेख गरे ।

बाहिर मिडियामा आएका कुराका आधारमा नियमित कामकाज छोड्ने कुरा नहुने भन्दै प्रचण्डले नियमित काम जारी राख्न आग्रह गरेको मन्त्री जोशीले जानकारी दिए । प्रधानमन्त्रीसँगको छलफलमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने, स्वास्थ्य मन्त्री प्रदीप यादवलगायतका मन्त्रीहरू सहभागी थिए ।

नियमित काम गर्न प्रधानमन्त्रीको निर्देशन भएको हुनाले आफूले मन्त्रालयका नियमित काम गरिरहेको उनलेे बताए । यद्यपि नेकपा एकीकृत समाजवादीको महाधिवेशन पनि भएकोले मन्त्रालयमा आफुले धेरै समय दिन भने नपाएको उनकाे भनाइ छ ।