काठमाडौं,१८ असार ।
दुई ठूला दल कांग्रेस र एमालेबीच ‘राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेका छन् । लामो गृहकार्यपछि दुई दलका शीर्ष नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई नेताले संविधान संशोधनको एजेण्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । कांग्रेसका एक नेताका अनुसार पहिलो चरणमा डेढ वर्ष एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् । दोस्रो चरणमापछि कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्नेछन् । शुरुमा नेतृत्व गर्ने एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछन् । यससँगै प्रदेश सरकारमा पनि भागवण्डा हुनेछ ।
दुई नेताबीच निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने सहमति पनि बनेको छ। आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने उनीहरूले बताएका छन् ।
राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने तयारी छ ।
सोमबार ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरूले लिखित सहमतिको मस्यौदा तयार पारेका थिए ।
एमालेले काग्रेससँग सहमतीय सरकारको सहमति गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ । एमालेले सरकार छाडेर समर्थन फिर्ता लिनासाथ दाहाल अल्पमतमा पर्नेछ ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले ढुक्क हुँदै बाहिर चलेका विषय हल्ला मात्रै भएको प्रतिक्रिया दिएका थिए । उनले एमाले–माओवादी गठबन्धनको सरकार लामो समय जाने बताएका थिए ।
दुई ठूला दल कांग्रेस र एमाले नयाँ सत्ता समिकरण बनाउने सहमति गरेसँगै दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।