बुटवल,१७ असार ।
बुटवल उपमहानगरपालिकाका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा भएका छन् ।

पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८० अनुसार बुटवलका १९ मध्ये १६ वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

सोमबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले आगामी वर्ष सबै वडाहरुलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त बनाउँदै नगरलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लगानी सहितको कार्यक्रम गरेका कारण पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणाको तयारीमा जुटेको बताए ।

वडाहरुमा रहेका शहरी स्वास्थ्य केन्द्रहरुबाट प्रदान गर्ने सेवालाई स्तरीय बनाउँदै लगेको बताउदै प्रमुख पाण्डेयले छिटै नै बुटवल १३ र १७ मा स्थापना भएका अस्पताल भवनहरुबाट जनरल अस्पताल र फिजियोथेरापी अस्पतालको सेवा शुरु गर्ने उल्लेख गरे ।

स्वास्थ्य क्षेत्रमा बालमृत्युदर र मातृमृत्युदर रोक्दै पोषण कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको उनले बताए ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई स्वास्थ्य क्षेत्रमा सबल बनाउनका लागि वडातहबाटै सेवा सुधार गरिरहेको बताइन् ।

वडा नम्बर १५ का अध्यक्ष तथा प्रवक्ता शिव राना र वडा नम्बर १२ का अध्यक्ष डिल्ली प्रसाद शर्माले सबै वडालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गर्ने गरी तयारी गरेको जानकारी गराए ।

यस वर्ष बुटवलका वडा नं ६, १२ र १७ लाई प्राविधिक कारणले पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गर्न नसकिएपनि आगामी आर्थिक वर्षमा नगरलाई नै घोषणा गर्ने तयारीका साथ कार्यक्रम अगाडि बढाउने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।

बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षभित्रमा वडा नम्बर १३ र १७ मा स्वास्थ्य केन्द्र भवन निर्माण भई अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी गरेको छ । यस्तै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि उपचारका लागि बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तरत २ हजार ५ सय ८१ जनालाई विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरेको छ ।

नगर प्रमुख स्वस्थ शिशु कार्यक्रमअन्तरगत ४ सय ९ जना सुत्केरी महिलालाई जनही २ हजार रुपैयाँ पोषणभत्तावापत्को रकम वितरण गरेको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । उनका अनुसार नगरबासीलाई सरकारी र निजी अस्पतालमा उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने कार्यक्रमबाट ४ सय जनाले लाभ लिएका छन् ।

यस्तै जटिलरोग विपन्न अनुदानअन्तरगत १ सय ४५ जनालाई जनही रु. १७ हजार, १८ वर्षमुनिका ३ जना एचआइभी संक्रमित बालबालिकालाई मासिक रुपमा जनही ३ हजार रुपैयाँ उपलब्ध गराइएको र विपन्न वर्गलक्षित जटिल रोग उपचारमा जनही १ लाख रुपैयाँका लागि संघ सरकारतर्फ ३ सय ५८ जना र जनही २ लाख रुपैयाँका लागि प्रदेशतर्फ १ सय ३६ जनालाई सिफारिश उपलब्ध गराएको उनले बताए ।