Share this News on Social Networking Pages

बुटवल,१७ असार ।
लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. ईन्द्र ढकाललाई नियुक्त गर्ने प्रदेश सरकाकाे निर्णय तत्काल कार्यान्वयन नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ ।

ढकालको नियुक्ती बिरूद्व डा. विष्णु गौतमले सर्बोच्चमा दिएको निवेदन उपर प्रारम्भिक सुनुवाइ गर्दै न्यायधिश विनोद शर्माको एकल इजलासले आर्थिक र प्रशासनिक जिम्मेवारी सहित निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकिएको निर्णय-काम कारबाही-पत्राचार कार्यान्वयन नगर्नु, यथास्थितिमा राख्नु भनी प्रत्यार्थीहरुका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

“नेपाल सरकारको मिति २०७८ पुस १ को निर्णय अनुसार नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ समूह प्रमुख मेडीकल सुपरिटेण्डेट एघारौं तहमा स्थायी नियुक्ती भएका निवेदक डा. विष्णु गौतम कार्यरत रहँदा रहँदै निज भन्दा कनिष्ठ एवम् मेडिकल सुपरिटेण्डेण्टको लागि आवश्यक शैक्षिक योग्यता समेत नरहेका दशैं तहका डा.ढकाललाई अस्पतालको आर्थिक र प्रशासनिक जिम्मेवारी सहित निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकिएको भन्ने देखिएकोले मुद्दाको टुंगो नलाग्दा सम्म
उक्त निर्णय यथास्थितीमा राख्नु” सर्बोच्चकाे आदेशमा भनिएको छ ।

सर्बोच्चले उक्त रिटकाे सुनुवाइका लागि यहि असार २३ गते आईतबार पेशी तोकेको छ ।

साथै सर्वोच्च अदालतले १५ दिन भित्र लिखित जवाफ पेस गर्न समेत बिपक्षीका नाउँमा आदेश दिएको छ ।

सर्वोच्च अदालतले गत शुक्रबार उक्त आदेश दिए पनि साेमबार मात्रै सार्वजनिक भएको हो ।

मिति २०८१ जेठ १८ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेण्टमा डा. ईन्द्र ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।