काठमाडौं,१६ असार ।
प्राकृतिक विपदबाट विगत चार दिनयता ३० जनाको मृत्यु भएको छ । असार ११ गते रातिदेखि सक्रिय भएको मनसुनका कारण देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोले जनधनको व्यापक क्षति भएको हो ।

अविरल वर्षापछि आएको पहिरोले गुल्मी, बागलुङ र कास्कीमा शनिबार ९ जनाको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण पहिरोले घर पुरिँदा गुल्मीस्थित मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा एकै घरका पाँच जनाको मृत्यु भएको छ ।

स्थानीय भेषबहादुर विकको घर पुरिँदा भेषबहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सीता बिक, नातिनी सपना विक र विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

त्यस्तै, बागलुङमा शुक्रबार राति गएको पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती विकको पहिरोमा पुरिएर मृत्यु भएको छ । प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।

शनिबार बिहान परेको पानीपछि गएको पहिरोले स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमाछोरीको पुरिएर मृत्यु भएको छ । घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जिटी र उनकी ३ वर्षीया छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न नदीहरूमा बाढीको जोखिमसमेत बढेको छ। बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। महाशाखाका अनुसार शनिबारदेखि आइतबार कालिगण्डकी, सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने र नारायणी नदीका अन्य सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।

गत मंगलबार राति र बुधबार बाढीपहिरो र चट्याङले २१ को मृत्यु भएको थियो । बाढीपहिरोमा परी मंगलबार र बुधबार लमजुङमा ५, मोरङमा ३, कास्कीमा २, ओखलढुंगा र झापामा १–१ जनाको मृत्यु भएको थियो । मोरङमा खोलामा बगेर २ जना बेपत्ता भएका थिए भने विभिन्न जिल्लामा बाढीपहिरोबाट दुई दर्जन बढी घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चट्याङ लागेर झापा, रोल्पा, कपिलवस्तु र कैलालीमा २–२ तथा सुनसरीमा १ गरी ९ जनाको ज्यान गएको थियो भने कैलालीमा ६, मकवानपुर, लमजुङ, दैलेख र तनहुँमा २–२ तथा सुनसरीमा एक घाइते भएको मन्त्रालयले जनाएको छ ।

प्राकृतिक विपद्को खतरालाई ध्याननमा राखेर विपद् पूर्वतयारीअन्तर्गत आवश्यक जनशक्ति र सामग्रीहरू तयारी अवस्थामा राख्न सबै संयन्त्रलाई निर्देशनसहित तयारी गरिएको साथै विपद् राहत कोषको समेत व्यवस्था गरिएको मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

सम्भावित जोखिमयुक्त स्थानमा बसोबास गर्नेलाई स्थानान्तरणको कामलाई सँगै लगेको जनाउँदै उहाँले आम नागरिकलाई सतर्क रहन र विपद् आइपरेको खण्डमा आवश्यक सहयोग आदानप्रदान गर्नसमेत उनले अनुरोध गरेका छन् ।