काठमाडौँ,१३ असार ।
भोलि शुक्रवारदेखि मनसुन थप सक्रिय भई ठाउँठाउँमा भारी र अति भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक विशेष बुलेटिन जारी गरी सो जानकारी गराएको हो ।

अबको केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहने देखिएकाले नेपालमा मनसुन थप सक्रिय हुन लागेको महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले देशैभरी बदली भई केही ठाउँमा भारी र केही ठाउँमा अति भारी वर्षा हुने अनुमान गरिएको बताइन् । यो क्रम असार १६ गते आइतबारसम्मै रहने छ ।

साथै गण्डकी प्रदेशका केही स्थानहरू, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका १/२ स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको १/२ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको माैसमविद् मानन्धरले बताइन् ।

जसका कारण पहाडमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने जनाइएको छ ।