पाेखरा,१३ असार ।
गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाईएको छ ।
सर्वोच्च अदालतकाे आदेशको अवज्ञा गर्दै गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले प्रदेश सभा सदस्य देवकोटालाई प्रदेश सभा प्रवेशमा राेक लगाएका हुन् ।
बिहीबार प्रदेश सभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकहरुले प्रदेश सभाभित्र प्रवेश गर्न दिएका थिएनन् ।
संसद् सचिवालयका कर्मचारीका अनुसार अन्तरिम आदेशको पत्र संसद् सचिवालयमा आइसकेको छ । ‘अदालतको पत्र आइसकेको छ । सभामुखको अधिकार हो । केही बोल्न मिलेन,’ एक कर्मचारीले भने, ‘अन्तरिम आदेश आएपछि रोक्न मिल्दैनथ्यो । सभामुखले हाजिर नगराउनुस् भन्ने आदेश दिनुभयो ।’
संसद् सचिवालयलाई पहिले नै आफू आएको जानकारी गराए पनि सहजीकरण नगरिएको देवकोटाले बताए । ‘मैले सभामुख ज्यू, मुख्यमन्त्रीज्यू सबैलाई जानकारी गराएको छ । म आएँ व्यवस्था मिलाइदिनु भनेको थिएँ,’ उनले भने, ‘तर बैठक कक्षमा प्रवेश गर्ने बेलामा मर्यादा पालकले पर्खनुस् भने म बाहिरै परेँ ।’
मुख्यमन्त्री सरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणीन्द्रले रिट दायर गरेका थिए ।
उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिदै सांसद पद खारेज नहुने आदेश दिएको थियो ।
माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए । त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।






