काठमाडौ,११ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन पहल भइरहेको सदनलाई जानकारी गराएका छन् ।

आज बसेकाे प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले सदनलाई उक्त कुराकाे जानकारी गराएका हुन् ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने बिषयमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा भर्ना भएका नेपाली नागरिकसँग मध्यरातमा भएपनि टेलिफोन सम्पर्क गरेको बताए ।

राप्रपा सांसद शाहीले त्यस सन्दर्भमा ‘नेपालमा प्रधानमन्त्री छ कि छैन ?’ भनेर राखेको जिज्ञासाको जवाफमा उनले नेपालमा यतिखेर प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री रहेको उल्लेख गरे ।

‘नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’, उनले भने, ‘प्रचण्ड भएको हुनाले भन्न चाहन्छु राति १२ बजे रुसी सेनाको लडाइँ मोर्चामा भएकाहरुसँग फोनमा कुरा गर्ने गरेको छु ।’

उनले सांसद शाहीको प्रश्नप्रति व्यङ्ग्य गर्दै थपे, ‘तपाईं कुनै दिन प्रधानमन्त्री हुनु भएछ भने तपाईंले कति गर्नुहुन्छ म पनि हेर्न चाहन्छु ।’