काठमाण्डाै,८ असार ।
आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक/दुई ठाउँमा र राति लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

आज बिहान गण्डकी प्रदेशका केही भू–भाग तथा बाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

यसैबीच १२ दिनअघि पूर्वबाट भित्रिएको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । कर्णाली र सुदूरपश्चिममा पनि मनसुन अनुकूल वातावरण बन्दै गएको तर सबैतिर फैलिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशको धेरै भू–भाग तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म फैलिएको छ । अहिले मनसुनी वायु र पश्चिमी वायुको प्रभावले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हल्कादेखि पूर्णतया बदली छ भने बाँकी ठाउँमा आंशिक बदली छ ।