Share this News on Social Networking Pages

काठमाडौँ,७ असार ।
आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बिविध कार्यक्रम गरी मनाइँदैछ ।

सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो । सोही बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो ।