काठमाण्डाै,६ असार ।
आउँदो आइतवारसम्ममा मनसुन देशभर फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा देशको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको हो । आइतवारसम्ममा मनसुन देशभर फैलिएपछि तातो हावाको लहरको जोखिम बिस्तारै हट्दै जाने उनकाे भनाइ छ ।

अहिले देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आउँदो शनिवारसम्म ठूलो पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन
समेत महाशाखाले अनुरोध गरेको छ ।