काठमाडौँ,५ असार ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका तत्कालीन मालपोत अधिकृतसहित ५ जनालाई बिशेष अदालतले दुइदेखि ८ वर्षसम्म कैद सजाय हुने फैसला सुनाएको छ ।

विशेष अदालतले ३ जनालाई ८ वर्ष, एकजनालाई ४ र अर्का एकजनालाई २ वर्ष कैद सजाय तोकेको हो ।

मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी र कम्प्युटर अधिकृत कुमोद तिवारीलाई आज विशेष अदालतले ८ वर्ष कैदसहित जनही २ करोड ५० लाख २३ हजार ९८१ रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

यस्तै, अर्का तत्कालीन मालपोत अधिकृत गोपालबहादुर ढुंगानालाई ४ वर्ष कैदसहित ७० लाख ९१ हजार ९ सय रुपैयाँ जरिवाना तथा पदमप्रसाद अर्याललाई दुई वर्ष कैद र ३३ लाख ६३ हजार २ सय रुपैयाँ जरिवाना हुने फैसला भएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

मालपोत कार्यालय पर्सामा कार्यरत रहँदा उनीहरूले मिलेमतोमा जग्गाको लिखत पास गर्दा प्राप्त भएको राजश्व रकममध्ये ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपैयाँ राजश्व सरकारी खातामा दाखिला नगरी आफैँ अपचलन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

उक्त आरोपपत्रमाथि अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायधीशहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले गत जेठ २८ गते ६ जना तत्कालीन मालपोत अधिकृतहरूलाई दोषी ठहर गरी सजाय निर्धारण गर्न आजको पेशी तोकेको थियो ।

प्रतिवादी चन्द्र भण्डारीको हकमा सोही दिन ४ लाख ८८ हजार ९२९ रुपैयाँ बिगो कायम गर्दै ६ महिना कैद सजायको फैसला सुनाइएको थियो ।