काठमाडौँ,४ असार ।
पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यकर्तालाई बाँड्न
सरकारले १ करोडभन्दा साना आयोजनामा ५५ अर्बभन्दा बढी रकम राखेको आरोप लगाएका छन् ।

कूल ३ खर्ब ३० अर्बको पुँजीगत खर्च बजेटमा सरकारले कार्यकर्ता पाेस्नकै लागि ५५ अर्बभन्दा बढी रकम १ करोडभन्दा साना आयोजनामा राखेको उनको आरोप दाबी छ ।

मंगलवार बसेकाे प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले उक्त आरोप लगाएका हुन् ।

उनले सरकारले ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा ४ मन्त्रालयमा मात्र ५५ अर्बभन्दा बढी बजेट १ करोडभन्दा साना आयोजनामा राखेको बताए ।

५५ अर्ब सबै रकम उपभोक्ताको नाममा राखेको बजेट पार्टीका कार्यकर्ताले खर्च गर्ने दावी गर्दै उनले ५५ अर्ब राज्यको रकम पार्टीका कार्यकर्तामार्फत अधिकांश रकम दुरुपयोग हुने आरोप समेत लगाए ।

सरकारको प्रतिबद्धताविपरीत ३ करोडभन्दा तलका आयोजनामा बजेट वितरण गरिएको भन्दै उनले प्रधानमन्त्रीले बोल्ने मात्रै र कार्यान्वयन नगर्ने गरेको टिप्पणी गरे ।

‘सरकारले ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा ४ मन्त्रालयमा हेर्दा ५५ अर्बभन्दा बढी बजेट १ करोडभन्दा साना आयोजनामा छ। यी सबै उपभोक्ताको नाममा जसले बजेट राखेका हुन्‚’ उनले भने, ‘उनीहरुले आफ्नो मान्छेमार्फत खर्च गर्छन् र अधिकांशको दुरुपयोग हुन्छ भन्ने स्पष्ट हुँदाहुँदै पनि ३ करोडभन्दा तलका आयोजनामा बजेट वितरण गरिएको छ।’

सरकारले बजेट विनियोजनमा पुरानै शैली दोहोर्‍याइरहनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले भौतिक पूर्वाधार मन्त्रालयमा मात्रै स्थानीय सडकअन्तर्गतका ६५५ आयोजनामध्ये ८९ वटा आयोजनामात्र १ करोडभन्दा माथि रहेको बताए ।

उनले काठमाडौँ सडक विस्तारमा ४३ मध्ये ४ वटामात्र १ करोडमाथिका र रणनीतिक सडक पुल निर्माणका ६७९ आयोजनामध्ये ७२ वटा आयोजनामात्र १ करोडभन्दा माथिका रहेको बताए ।

‘प्रधानमन्त्री बोलेको बोलै हुनुहुन्छ तर कार्यान्वयनमा हामी पुरानै शैली दोहोर्‍याइरहेका छौँ । भौतिक पूर्वाधार मन्त्रालयमामात्रै स्थानीय सडकअन्तर्गतका ६५५ आयोजनामध्ये ८९ वटा आयोजनामामात्र बजेट १ करोडभन्दा माथि छ‚’ उनले भने, ‘काठमाडौँ सडक विस्तारका ४३ मध्ये ४ वटामा मात्र १ करोडभन्दा माथि छ। रणनीतिक सडक पुल निर्माणमा ६७९ आयोजनामध्ये ७२ वटा आयोजनामा मात्रै बजेट १ करोडभन्दा माथि छ। २ करोडमाथिका आयोजना ७ वटामात्र छन् ।’

उनले २ करोडमाथिका आयोजना ७ वटा मात्र रहेको पनि बताए। उनले वैकल्पिक सहायक राजमार्ग भौतिकले नगर्ने भनेको ठाउँमा ८९८ आयोजना रहेको बताए ।

जसमा १८९ आयोजनामा मात्रै करोडमाथि रकम रहेको र २ करोडमाथिका नगन्य रहेको उनलेे बताए । उनले १४ वटा सुरुङमार्ग उल्लेख भए पनि बुटवलबाट पाल्पा जानेबाहेक अन्य कुनैमा बजेट उल्लेख नभएको बताए ।

सबैभन्दा महत्वपूर्ण बनाउनुपर्ने रणनीतिक महत्वको टोखा-छहरे सुरुङ मार्गको गत वर्ष प्रस्ताव गरेको भए पनि अहिले नामसमेत उल्लेख नगरी भेदभाव गरेको उनको आराेप ।

‘वैकल्पिक सहायक राजमार्ग भौतिकले नगर्ने भनेको ठाउँमा ८९८ वटा आयोजना छन्। १८९ आयोजनामा मात्र बजेट १ करोडमाथि रहेको छ‚ २ करोडमाथिका नगन्य छन्। १४ वटा सुरुङ मार्ग उल्लेख छ । बुटवलबाट पाल्पा जानेबाहेक अन्य कुनैमा बजेट उल्लेख छैन‚’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण बनाउनु पर्ने रणनीतिक महत्वको टोखा-छहरे सुरुङ मार्गको गत वर्ष हामीले प्रस्ताव गरेको हुनाले अहिले नामसमेत उल्लेख छैन‚ किन यस्तो भेदभाव हो? यो कुनै नुवाकोटको मात्र होइन‚ देशको आयोजना हो ।’

उनले गत वर्षको सरकारले ल्याएका योजनामा अहिले पूरै भेदभाव गरेर बजेट विनियोजन भएको आरोप लगाए। उनले दायित्व सिर्जना भएर ठेक्का आयोजनामा पहिला खर्च गर्नु भनिए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए ।