काठमाडौं,२ असार ।
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । उनले नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा नरहने बताए ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेनले लेखेका छन्, ‘१६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगरपालिकाले गर्दैन । ’
उनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताए । ‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौं, ’उनले भने ।
नगरसभा स्थगित भएपछि काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आक्रोश पोखेका छन् । आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि मेयर शाह आक्रोशित भएका हुन् ।
मेयर शाहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई पाँच मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । तर, कांग्रेस र एमालेबाट निर्वाचित वडाअध्यक्षहरुले बैठक बहिष्कार गरेर हिँडेपछि १५ औं नगरसभाका दोस्रोे बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ ।
न्यूरोडको नयाँ सडकलाई नो भेइकल जोन बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेको भन्दै असन्तुष्टरी जनाएर केही कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका थिए ।