हेटौंडा,१ असार ।
हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेर प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयविरुद्ध सत्तारुढ नेकपा माओवादी केन्द्रसहित चार राजनीतिक दलले विरोध गरेका छन् ।

प्रदेश सरकारको सो निर्णय खारेज हुनुपर्ने भन्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेल सम्बद्ध दल माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाका नेता कार्यकर्ताहरुले हेटौंडा उपमहानगरपालिका-१० मा रहेको वाग्तमी प्रदेशसभा भवन अगाडि शनिबार अपराह्न विरोध प्रदर्शन गरेका हुन् ।

आज अपरान्ह ५ बजे प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक (बजेट) प्रस्तुत गर्ने कार्यक्रमलाई लक्षित गरि दलहरूले बिराेध प्रदर्शन गरेका हुन् ।

हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेर प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने विषयमा बजेट विनियोजन नगर्न दबाब दिने उद्देश्यले आन्दोलन गरिएको कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले जानकारी दिए ।

ब्यानर, प्लेकार्डसहित प्रदेशसभा भवन अगाडि प्रदर्शनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपाका नेता कार्यकर्ताहरु र सत्ता पक्षका सांसदहरुसमेत उपस्थित थिए ।

शुक्रबार बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठकले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेर प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको थियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारले करिब ६५ करोड रुपैयाँ वार्षिक उपलब्ध गराउँदै आएको छ ।