काठमाडौं,३२ जेठ ।
पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले केन्द्र सरकारले राखेका साना योजनाले संघीयताको उपहास गरेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै शर्माले संघीय सरकारले १ लाख, ५ लाखका साना योजना राख्दा संघीयताको उपहास भएको बताएका हुन् ।
उनले भने, ‘बजेट विनियोजन गर्दा संघका मन्त्रीहरूले प्रदेश र स्थानीय सरकार पनि छ भन्ने कुरा नर्बिसन म आग्रह गर्दछु ।’
संघीय सरकारको मन्त्री भएपछि केन्द्रिकृत मनोभावनाले ग्रसित हुन नहुने भन्दै उनले साना योजनाहरू प्रदेश र स्थानीय तहलाई दिएर विकासलाई दिगो र परिणाममुखी बनाउन आवश्यक रहेको बताए ।
सांसद शर्माले सरकार निर्माण गर्ने बजेट पुरानै अवस्थामा रहेको भन्दै सुधार गर्न आवश्यक रहेको सुझाव दिएका छन् । उनले भने, ‘कुनै परिणाम नदिने योे छलफलको पनि खासै आवश्यकता देख्दिनँ ।’