नवलपरासी,३२ जेठ ।
ढल खन्ने क्रममा बिहीबार ३ महिला मजदुरको मृत्यु भएको बिषयलाई लिएर पूर्वी नवलपरासीको सदरमुकाम कावासोती तनावग्रस्त भएको छ ।
मृतकका आफन्तहरुले नगरपालिका कार्यालय र मेयरको घर समेत तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको छ ।
केहीबेर अघि कावासोती नगरपालिका तोडफोड गरेका स्थानीयहरुले कावासोती बजारमा रहेको मेयर बिष्णु भुसालको घरमा समेत तोडफोड गरेका छन् ।
मृतकले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरिरहेका छन् । घटना पछि कावासोती बजारमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारीले मेयरको घरमासमेत आगजनीको प्रयास गरेका छन् ।
कावासोती नगरपालिका-२ फलफुल चोकमा नाला निर्माणमा खटिएका कावासोतीका ५१ बर्षिया सेती राना, २६ वर्षकी तानमया मगर र ३२ वर्षिया चमेली सिंजालीको बिहीबार ढिस्कोले पुरेर मृत्यु भएको थियो । उनीहरु सबै कावासोती नगरपालिका वडा नम्बर ५ निवासी हुन् ।
नगरपालिकाको लापरबाहीका कारण ती महिलाहरुको मृत्यु भएको भन्दै छानविन समिति बनाउनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।








