चितवन,३२ जेठ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ जादै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खस्दा कम्तिमा १२ जना घाइते भएका छन् ।

घाइते मध्ये केही यात्रुकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै ठोक्किएका थिए ।

बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै छ । कारमा सवार २ जनाको अवस्था गम्भीर छ । टाउकोमा गम्भीर चोट लागेका कार चालक पोखरा महानगरपालिका ५ का ३५ वर्षीय समिर ओझा र टाउकोमा नै चोट लागेका सोही कारमा सवार काठमाडौंको टोखा नगरपालिका ६ टोखाका २२ वर्षीय शेखर मिश्रको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

बस चालक कोहलपुर-१२, बाँकेका ३५ वर्षीय विकास मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्य केही यात्रुहरु पनि घाइते भएकाे र उनीहरुलाई विभन्न अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी विपद व्यवस्थापनको टोली र इलाका प्रहरी कार्यालय मुग्लिनको टोली उद्धारमा खटिएकाे थियोे ।