दाङ,३२ जेठ ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महरा सँग संयुक्त राष्ट्र संघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीले भेटघाट गरेका छन् ।

मुख्यमन्त्री कार्यालय दाङको देउखुरीमा बिहीवार भएको भेटघाटमा मुख्यमन्त्री महराले संयुक्त राष्ट्र संघले नेपालमा गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको बताए ।

अनमिनले नेपालको शान्ति प्रकृयामा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलेे नेपालको दिगो विकासमा संयुक्त राष्ट्र संघले गरेका कार्यक्रमहरू उत्कृष्ट र सन्तोषजनक रहेको जानकारी गराए ।

लुम्बिनी प्रदेश सरकारले प्रविधिको माध्यमबाट यहाँको कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पूर्वाधार र सांस्कृतिक क्षेत्रहरूमा विकास गर्न खोजेको कुरा मुख्यमन्त्री महराले बताए ।

उनले नेपालका भूमिहीन, सुकुम्बासी र असहायको पक्षमा प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने प्रयास गरेको भन्दै सहकार्यका लागि संयुक्त राष्ट्र सङ्घलाई आग्रह गरे ।

नेपालमा सीमान्तकृत, गरिब र असहायका पक्षमा संयुक्त राष्ट्र संघका एजेन्सीहरूले नतिजामुखी कामहरू गरिरहेको र बाढी, पहिरो र आगलागीले पनि नेपालमा ठुलो क्षति पुराएको जानकारी दिदै मुख्यमन्त्री महाराले संयुक्त राष्ट्रसङ्घसँग सहकार्यको अपेक्षा रहेको बताए ।

नेपालमा ग्रामिण क्षेत्रबाट शहरमा मानिसहरूको बसाइ सराई तिब्ररुपमा हुने गरेकाले लुम्बिनी प्रदेशका १०९ पालिकामा वातावरणमैत्री, हरियाली १०९ वटा आधुनिक शहरको योजना निर्माण गरि कामहरू अगाडि बढाउने प्रकृयामा लुम्बिनी प्रदेश सरकार रहेकाले संयुक्त राष्ट्रसंघ सँग सहकार्य गर्न चाहेको धारणा राखे ।

लुम्बिनी प्रदेशको मानव विकास र भौतिक पूर्वाधारको क्षेत्रमा प्रदेश सरकारले थालनी गरेको बताउँदै मुख्यमन्त्री महाराले जनताको आय आर्जन र कृषिक्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर कार्यक्रमहरू निर्माण गरिएको बताए ।

भेटघाट कार्यक्रममा संयुक्त राष्ट्र संघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीले संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा नेपाली सैनिकहरूको मल्याङ्कन उच्च रहेको भन्दै नेपाली महिला सैनिकहरूको सहभागितामा १ नम्बरमा रहेको बताए ।

उनले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्तकमैया र सुकुम्बासीका विषयमा नेपालको संविधान विश्वमा उत्कृष्ट रहेको भन्दै उनीहरूको जीवनस्तर माथि उकास्नका लागि प्रदेश सरकारले प्रभावकारी काम गर्न मुख्यमन्त्री महरालाई सुझाव दिए ।

संविधानको मर्म अनुसार भूमि आयोगले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्तकमैया र सुकुम्बासीका पक्षमा काम गरोस् भन्ने पक्षमा संयुक्त राष्ट्र संघ रहेको हेम्डीले बताए ।

अतिकम विकसित मुलुकको समुहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा नेपालले प्रशंसा योग्य प्रगति गरेको भन्दै संयुक्त राष्ट्र संघका आवासीय संयोजक हेम्डीले विकासका लागि वित्तिय परिचालन, जलवायु, सुशासन र सामाजिक सेवामा क्षमता अभिवृद्धि गर्नमा संयुक्त राष्ट्र संघका एजेन्सीहरूले नेपाललाई सहयोग गर्ने जानकारी गराए ।

लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरको रुपमा रहेको बुद्धस्थल लुम्बिनी संयुक्त राष्ट्र संघको प्राथामिकतामा रहेको भन्दै हेम्डीले विश्वसम्पदा सुचीमा सूचिकृत भएको लुम्बिनीलाई जोगाउन सबैको सहकार्यको आवश्यकता रहेको बताए ।

भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकाल र प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको सहभागिता रहेको थियो ।