बुटवल,३१ जेठ ।
बुटवल उपमहानगरपालिकाले सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
बिहीबार बुटवल उपमहानगरपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले नगरको सेवाप्रवाह, विकास निर्माणका साथसाथै बुटवलभित्रका संघ, प्रदेश कार्यालयहरु,विद्युत, सुरक्षा निकाय, मालपोत र नापी, सडक डिभिजन कार्यालय, खानेपानी, ढल निकासलगायतका विषयमा धारणा राखेका थिए ।
उनीहरुले वर्षायामको तयारी गर्नुपर्ने, ज्योतिनगर र श्रवणडाडाको पहिरो, नदीजन्य पदार्थको उत्खनन्, मुख्य सडक निर्माण, सडक बत्तीजस्ता विषयमा गुनासो र सुझावहरु राखेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक सुनुवाईबाट प्राप्त प्रश्न र सुझावहरुलाई ग्रहण गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
२०७९ जेठ ९ गते पदभार ग्रहण गरेपछि नियमित रुपमा सार्वजनिक सुनुवाई गरिएको बताउँदै उनले यसबाट प्राप्त नागरिकका अभिमतलाई सम्मान गर्दै अघि बढ्ने बताए । उनले बुटवललाई सबैको साथले समृद्ध सहर बनाउने योजना पूरा हुने बताए ।
प्रमुख पाण्डेयले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहरका रुपमा स्थापित गर्न आफुहरु प्रतिबद्ध रहेको बताए । उनले बुटवललाई आर्थिक केन्द्रका रुपमा मात्रै नभई मानव संशाधनको दृष्टिबाट पनि उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने मुख्य शहरका रुपमा स्थापित गर्ने दृढता ब्यक्त गरे ।
‘बुटवललाई नेपालकै महत्वपूर्ण शहरका रुपमा स्थापित गर्ने र प्रवद्र्धन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ, हामी बुटवललाई शैक्षिक, व्यापारिक, औद्योगिक, पर्यटकीय, प्रविधियुक्त, स्वस्थ र अगुवा नगरका रुपमा स्थापित गर्न प्रयत्नरत छौं’ उनले भने ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध सहर बनाउनका लिग सबैको साथ जरुरी रहेको बताइन्। उनले नागरिक सचेत भएमा मात्रै विकासको खास अर्थ रहने भन्दै सार्वजनिक सरोकारका विषयमा र सार्वजनिक सम्पत्ति संरक्षणमा विशेष चासो दिन आग्रह गरिन् ।
कार्यक्रममा उठेका विषयहरुमा बोल्दै बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सहभागीका प्रश्न र सुझावहरुलाई विशेष प्राथमिकता दिएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
सेवा प्रवाहलाई चुस्त र दुरुस्त राख्न आफुहरुलाई महत्वपूर्ण सुझावहरु आएको भन्दै उनले प्रशासनिक सुधार गर्ने गरी काम गर्ने आस्वाशन दिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रतिनिधिहरु र सामाजिक संस्थाका प्रतिनिधिहरुले आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा पत्रकार भवानी प्रसाद पाण्डेले १ सय भन्दा बढी सेवाग्राहीसँग एक्जिटपोल र सिटिजन रिर्पोट प्रस्तुत गरेका थिए ।
सार्वजनिक सनुवाई कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न बिषयगत समितिका संयोजक, विभिन्न नागरिक समाज तथा संघसंस्थाका प्रतिनिधि गरि करिव २ सय जनाको सहभागिता रहेको थियो ।