काठमाडौं,३१ जेठ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख रूपयाँ जरिवानाको सजाय तोकिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाँय निर्धारण गरेको हो ।
भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २५ गते दायर गरेको मुद्दामा विशेष अदालतले दुई महिनामै फैसला गर्दै सजाय निर्धारण गरेको हो । इन्जिनियर भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेकाे अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
भट्टराईले भक्तपुरको गुण्डु गाविस–३ स्थित २ रोपनी ९ आना २ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७४ र २ आना १ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७५ को जग्गा आमा जनक नन्दनी भट्टराईको नाममा खरिद गरेका थिए । जग्गाको मोल भने ठेकेदारले तिरिदिएका थिए । सो जग्गा खरिद गर्नका लागि भट्टराईले लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण कम्पनीका सञ्चालकसँग घुस लिएकाे अदालतले ठहर गर्दै जग्गा जफत हुने फैसला सुनाइसकेको छ ।
कोषका वरिष्ठ इन्जिनियर पदका कर्मचारी भट्टराई विगत ७ वर्षदेखि योजना प्रमुखको रूपमा काम गर्दै आएका थिए ।