बुटवल,३१ जेठ ।
पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल आउदै गरेको बोलेरो जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

लु २ च ८५३१ नम्बरको जीप बुधबार राती नुवाकोटबाट बुटवल जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र २ जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृत्यु हुनेमा स्याङ्जा पुलतीबजार घर भइ हाल बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, रूपन्देहीको तिलोत्तमा ३ का ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ कै ५० वर्षीय भगवती श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार घटनामा बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ र बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।