पाल्पा,३० जेठ ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाल्पाको रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका ३५ वर्षीय बृहस्पति पचभैया रहेका छन् ।

तानसेन नगरपालिका–१ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पचभैयाले गत शनिबार बालिकालाई बलात्कार गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

पचभैया तानसेन नगरपालिका–१४, अर्गलीस्थित स्थानीय स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । गत आइतबार पीडितको तर्फबाट दिएको जाहेरी अनुसार उनी विरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ । थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ ।