बुटवल,३० जेठ ।
आज पनि मध्य र पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा माथि पुगेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।

आज बाँकेको भगवानपुरमा ४३ दशमलव ५ डिग्री सेल्सियस र नेपालगञ्ज विमानस्थलमा ४३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित मध्यपहाडी भू–भागमा पनि अत्यधिक गर्मी रहेको छ । मनसुनी प्रणाली प्रवेश गरिसकेको भए पनि नेपालका धेरै भू–भागमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन काठमाण्डौ उपत्यका हुँदै पश्चिम नेपालसम्म नफैलिएसम्म चर्को गर्मी नहट्ने मौसमविद् सञ्जीव अधिकारीले बताए ।

अबका तीन दिन गर्मी कायमै रहने भन्दै उनले अझै चार/पाँच दिनसम्म मनसुन पश्चिमसम्म फैलिने सम्भावना नरहेको बताए । मनसुनी प्रणाली अझै पनि कोशी प्रदेशबाट अघि बढ्न सकेको छैन । अहिले मध्य र पश्चिमी भू–भागमा पश्चिमी वायु नै बलियो छ ।

पश्चिमी वायु बलियो भएकैले भारततर्फबाट तातो हावा आइरहेको मौसमविद् अधिकारीकाे भनाइ छ ।

डाक्टरले तातो हावाको लहरबाट जोगिन गर्मीको समयमा घरभित्र र चिसो ठाउँमा बस्न, घाममा सकेसम्म नजान, बाहिर निस्कँदा टोपी लगाउन, नियमित रूपमा पानी तथा तरल पदार्थ पिउने र स्वास्थ्यमा समस्या देखिएमा चिकित्सकसँग परामर्श गर्न सुझाव दिएका छन् ।