कपिलवस्तु,२९ जेठ ।
कपिलवस्तुकाे तौलिहवास्थित जिल्ला अस्पतालमा सरुवा भएर आएका मेडिकल सुपरिटेण्डेन्ट डा.किशोर बन्जाडेको स्वागतमा अस्पताल हाताभित्र पटाका पड्काइएको छ ।
उनको स्वागतका लागि अस्पतालभित्रै औपचारिक कार्यक्रम भइरहेका बेला मंगलबार ११ बजेतिर पटाका पड्काएकाे हो ।
मेसुकाे स्वागतमा अस्पताल हाताभित्रै पटका पड्काएपछि स्थानीय आक्रोशित भएका छन् ।
उनका समर्थकले खुसीयालीमा करिब एक मिनेटसम्म अस्पताल परिसरमा पटाका पड्काएका थिए । लगातारको पटाकाको ठूला आवाजले स्थानीयमा डरत्रास भएको थियो । २४ सैं घण्टा प्रहरी हुने अस्पतालमा पटाका पड्कँदा सुरक्षा संवेदनशीलतामाथी पनि प्रश्न उठेको छ ।
८ वर्ष ८ महिना २५ दिन साेेहि अस्पतालमा मेसु भएर काम गरेका उनको २०८० जेठमा यहाँबाट सरुवा भएको थियो ।
केन्द्र र प्रदेशमा माओवादी-एमाले सहितको नयाँ गठबन्धनको सरकार बनेपछि उनी पुनः सरुवा गराउन दौडधुप गरेका थिए । अस्पतालमा पटाका पड्काएको बारेमा आफूहरुलाई थाहा नभएको अस्पतालका सूचना अधिकारी रत्नाकर शुक्लाले बताए ।
सोसल मिडियाबाट आफूले पनि पटाका पडकिएको सुनेपछि अस्पतालबाट त्यस्तो काम नभएको भन्दै खण्डन गरिएको उनले बताए । अस्पतालजस्तो संवेदनशील ठाउँमा अराजक र दण्डनीय काम भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । प्रहरीले दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरेर लगेको प्रजिअ विश्वप्रकाश अर्यालले बताए ।







