गुल्मी,२९ जेठ ।
गुल्मी सदरमुकाम तम्घास नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । अर्घाखाँचीको छत्रदेव-७ नेटाबाट गुल्मी सदरमुकाम तम्घास देउराली जाँदै गरेको ना८ख ६६४४ नम्बरको टिपर गएराति दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा दुर्घटनामा टिप्पर चालक अर्घाखाँचीको सन्धिखर्क-८ का २६ वर्षीय रामलाल पुरी रहेका छन् ।

गयराति सडकबाट ६० मिटर तल खस्दा तीन जना घाइते भइ उपचारका लागि गुल्मी अस्पतालमा ल्याएकोमा चालक पुरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा सन्धिखर्क-८ कै ३३ वर्षीय रिसभ केसी र अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका-२ बस्ने २९ वर्षीय नविन घिमिरे घाइते भएका छन् । घाइतेमध्ये रिसभको अवस्था गम्भीर रहेको र दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।