बुटवल,२८ जेठ ।
भैरहवा भन्सार गस्ती टोलीले रुपन्देहीको दुई अलग स्थानबाट भन्सार छलेर भित्राइएका २२ लाख रुपैयाँ मुल्य भन्दा धेरैका सामानसहित ढुवानीमा प्रयोग गरिएका तीनवटा मिनी ट्रक नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका मिनी ट्रकबाट बरामद सामान बाहेक करिब १५ लाख रुपैयाँ मुल्यको रहेको जनाइएको छ । रुपन्देहीको सियारी गाउँपालिकामा पर्ने अमुवास्थित भित्री गाउँबाट लु १ च ४७९२ नम्बरको ट्रक सहित ब्रा, मोजा र बेल्ट (पेटी), टेप्पर ग्लास, लेडिज सेन्डल लगायत्का साढे १९ लाख भन्दा धेरै मुल्यको सामान नियन्त्रणमा लिएको भन्सार कार्यालयले जनाएको छ ।
उक्त सामानसहित रुपन्देहीको रोहिणी गाउँपालिका–७ निबासी ट्रक चालक अब्दुल अन्सारीपनि पक्राउ परेका छन् ।
यसैगरी,भन्सार गस्ती टोलीले भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको पछाडि मर्चवार जाने सडकको गरगट्टी भन्ने स्थानबाट लु १ च ६४३० र लु १ ख ४५४६ नम्बरको मिनी ट्रकसहित २ लाख ८० हजार रुपैयाँ मुल्य बराबरको ७ टन प्याज बरामद गरेको छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले दुइवटै स्थानमा सुराकीको आधारबाट ट्रकसहितको सामान पक्राउ गरिएको र गस्ती टोलीलाई देखेपछि प्याज ढुवानी गरेका दुईवटै ट्रकका चालक फरार भएको बताए ।