Share this News on Social Networking Pages

अर्को पेसी असार ४ गते

काठमाडौँ,२८ जेठ ।
गृहमन्त्री रवि लामिछानेलाई निलम्बनकाे माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले रुपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउने आदेश गरेको छ ।

सोमबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सुनुवाइ गर्दै उक्त आदेश गरेको हो ।

बहसका क्रममा निवेदकहरूले गृहमन्त्री लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाम उल्लेख भएको र उनले लिएको ऋणसमेत उल्लेख भएको जिकिर गरेका थिए । रिट निवेदकहरूले बहसका क्रममा सीआईबीमा रहेको प्रतिवेदनदेखि महान्यायाधिवक्ता कार्यालयमा यसअघि भएका निर्णयहरू पनि मगाउनुपर्ने माग गरेका थिए ।

तर सर्वोच्चले कृष्णप्रसाद खरेलको जाहेरीले जितेन्द्रबाबु राई समेत भएको सहकारी ठगी विवादसम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकार समेत दिने आदेशमा उल्लेख गरेको छ । सर्वोच्चले मुद्दाको अर्को पेसी असार ४ गतेलाई तोकेको छ । उक्त दिनसम्म महान्यायाधिवक्ता कार्यालयमार्फत अभियोग पत्र पेस गर्न अदालतको आदेशमा भनिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा सर्वोच्चले यसअघि पोखरा प्रहरी कार्यालयमा पेश भएको जाहेरी पेश गर्न भनेको थियो । तर आजको सुनुवाइका क्रममा सरकारी पक्षले केही पनि पेश नगरेपछि मिसिलहरू मगाउनेबारे बहस भएको थियो ।

गृहमन्त्री लामिछानेविरुद्ध दर्ता भएका वा पेस भएका उजुरी, अभियोग पत्र र अन्य मिसिलहरू पेस गर्न सर्वोच्चले आदेश गरेको हो । सर्वोच्चले अर्को सुनुवाइमा उक्त मिसिलहरू प्राप्त गरेपछि सुनुवाइ गर्दै निलम्बन गर्ने वा नगर्नेबारे निर्णय लिने छ ।

महान्यायाधिवक्ता कार्यालयले क्लिन चिटको अर्थ लाग्ने गरी लामिछानेको विषयमा कुनै जाहेरी, अभियोग पत्र र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । साे रिटमाथी दोस्रो सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश गरेको हो ।