काठमाडौं,२७ जेठ ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर दिएको अभिव्यक्ति सामान्य नभएको टिप्पणी गरेका छन् ।
नेकपा कालिन बेलामा प्रधानमन्त्री पद जोगाउनको लागि ओलीले पार्टी विभाजन गरेको आरोप समेत लगाए ।
आइतबार राजधानी काठमाडौंमा पार्टीले आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ओलीले नै एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर दिएको अभिव्यक्ति सामान्य नभएको टिप्पणी गरेका हुन् ।
उनले भने- ‘एकजना कम्युनिस्ट पार्टीका नेताले हिजो मात्रै संसद विघटन गरेर एमाले जोगाएँ भनेका छन् । यो सामान्य कुरा होइन । कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन । उनले पार्टी जोगाउन संसद,प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ ।’








