बुटवल,२७ जेठ ।
बैंकको डेविट तथा क्रेडिट कार्ट भएका ग्राहकलाई रुपन्देहीको तिलोत्तमा मणिग्राम स्थित एनजी मार्टमा विशेष छुट हुने भएको छ । नेपालका अधिकांश बैंकहरु र एनजी मार्ट विच बैंकका कार्ड भएका ग्राहकलाई छुट दिने सम्झौता भएको हो ।
ग्राहकलाई छुट दिने विषयमा भएको सम्झौता अनुसार कार्डबाट भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत सम्म छुट गरिने एनजी मार्टका अध्यक्ष नारायण वञ्जाडेले जानकारी दिए । उनका अनुसार ती ग्राहकलाई खाद्यान्नमा १.५ प्रतिशत, गैर खाद्यान्न, ग्रोसरीमा २ प्रतिशत, विद्यतीय उपकरण, सजावटका सामान, खेलाउना, भाडा वर्तनमा ५ प्रतिशत र कपडामा १० प्रतिशत छुट गरिने छ ।
एनजी मार्टले ग्राहकलाई आकर्षण गर्नेगरी लुम्बिनी विकास बैंक, कुमारी, प्रभु, महालक्ष्मी, एन.आई.एम.वि., शाईन रेसुंगा, कामना सेवा, गरिमा, ज्योती, ग्लोवल आईएमई, नविल, नेपाल बैंक, सिटिजन्स बैंक, एन.एम.वि., एनआईसी एसिया, प्राईम माछापुच्छ्रे, हिमालयन, एभरेष्ट, सानिमा, सिद्धार्थ, लक्ष्मी सनराईज, कृषि विकास, एसविआई बैंक र राष्ट्रिय वाणिज्य बैंकसंग सम्झौता भएको मार्टका प्रवन्ध निर्देशक आवास वञ्जाडेले बताए । त्यस्तै यी बैंकहरुले एनजी मार्केटको प्रवर्धनमा सहयोग गर्ने जनाइएको छ ।
मार्टमा आउने ग्राहकलाई लक्षित गरेर विभिन्न प्रकारका योजना अगाडि सारेको मार्टले तिलोत्तमा नगरपालिकाका १७ वटै वडाका टोल विकास संस्थाहरुसंग पनि छलफल गरेको छ । नगरबासीलाई किनमेलको लागि मार्टमा आउने वातावरण कसरी बनाउन सकिन्छ भनेर टोल विकास संस्थाहरुसग छलफल गरिएको अध्यक्ष वञ्जाडेले बताए ।
नेपालको सिमासंग जोडिएको भारतको सुनौली बजारमा भन्दा एनजी मार्टमा सस्तो र सुलभ मुल्यमा गुणस्तरीय सामान विक्रि वितरण गरिएको बताउँदै मार्टका अध्यक्ष वञ्जाडेले सस्तोको लागि सुनौली जान नपर्ने दाबी गरे । त्यसमा पनि विशेष छुट योजना बनाउन आफू तयार रहेको भन्दै उनलेे मार्टमा आउजाउ गर्नको लागि तिलोत्तमा नगरपालिका भरी निशुल्क बस सञ्चालन गर्न पनि आफू तयार रहेको बताए ।
स्थानीय ग्राहकलाई मार्टमा आउन आग्रह गर्दै उनलेे स्थानीय उत्पादनदलाई मार्टबाट विक्रि वितरणको प्रवन्ध गरिने, त्यसको लागि गुणस्तरमा ध्यान दिन पनि आग्रह गरे । अध्यक्ष वञ्जाडेले तिलोत्तमा नगरपालिकाका १७ वटा वडाका २०५ वटै टोल विकास संस्थासंग समन्वय गर्नेगरी छुट योजना बनाउन लागिएको बताए । उनका अनुसार एक घर एक लोयाल्टी पोइन्ट उपलब्ध गराउनेगरी छुट योजनाको तयारी भईरहेको छ । सम्भवत यो याेजना साउन १ गतेदेखि लागु हुनसक्ने उनको भनाई छ ।
छलफलमा सहभागि भएका टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुले पनि स्थानीय स्तरमा यति ठूलो मार्ट बन्नु गौरवको कुरा भएको बताउँदै स्थानीयले सकारात्मक रुपमा लिएको र सहयोग रहने बताएका थिए । उनीहरुले मार्टमा गाउँगाउँबाट आउजाउ गर्नको लागि यातायातको असुविधा हुने भएकाले त्यसलाई कसरी समाधान गर्न सकिन्छ, यातायातको प्रवन्ध मिलाउन सकियो भने त्यसको राम्रो प्रभाव पर्ने सुझाव दिएका थिए ।








