धादिङ,२७ जेठ ।
धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीबाट त्रिशूली नदीमा डुबेर बेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव फेला परेको छ ।
शव फेला पर्नेमा धादिङको घाटबेशीका १५ वर्षीय युनिक सुवेदी रहेका छन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार उनको शव फेला पारको हो ।
शनिबार दिउँसो ४ बजेतिर पौडी खेल्ने क्रममा १५ वर्षीय युनिक र १३ वर्षीय रिदम रोइला त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
बेपत्ता भएका रिदमको खोजी जारी रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
दुई किशोर बेपत्ता भएको सूचना पाए लगत्तै सशस्त्रको आदमघाटस्थित विपद् व्यवस्थापन बेसबाट डीएसपी मदनकुमार रसाईलीको कमाण्डमा ७ जनाको टोली परिचालन भएको थियो ।
आइतबार सशस्त्रको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट इन्सपेक्टर धनकुमार अधिकारीको कमाण्डमा ५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको थियो ।








