बुटवल,२७ जेठ ।
बुटवलमा आजदेखि नगरप्रमुख गृहिणी महिला स्वराेजगार कार्यक्रम अन्तर्गत विभिन्न जातजातिको भेषभुषा,ड्रेस तयार गर्ने २ महिने निशुल्क सीपमूलक तालिम सुरु भएको छ ।
तालिमको आइतबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।
साे अवसरमा नगर प्रमुख पाण्डेयले नगर प्रमुख गृहिणी महिला स्वराेजगार कार्यक्रम अन्तर्गत एक हजार महिलालाई स्वराेजगार बनाउने योजना अनुसार सीपमूलक तालिम प्रदान गरिएको भन्दै तालिमबाट उचित लाभ लिन सहभागीहरूलाई आग्रह गरे ।
नगरवासीलाई कुनै न कुनै सीपसँग जाेडेर स्वराेजगार बनाई आत्मनिर्भर बनाउन उपमहानगरपालिकाले विभिन्न खाले सीपविकास तालिम प्रदान गर्दै आइरहेको भन्दै नगर प्रमुख पाण्डेयले सीपविकास तालिम प्रदान गर्नेमा बुटवल नेपालमै अग्रणी स्थानमा रहेको दाबी गरे ।
बुटवललाई देशभरिकै चलायमान शहरको रूपमा विकास गर्ने योजना अनुसार नगर साैन्दर्यकरण गर्नेदेखि रात्रिकालिन बजार सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराउदै उनलेे
शिक्षालाई राेजगारसँग जाेड्ने कार्यक्रम अगाडि बढाइएको बताए ।
कार्यक्रम उपप्रमुख सावित्रा देवी अर्यालले बिशेष गरि महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन यस किसिमका तालिम सञ्चालन गरिएको बताइन् ।
महिलाहरू आत्मनिर्भर नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने भन्दै उनलेे तालिम लिएर स्वराेजगार बन्न सहभागीहरूलाई आग्रह गरिन् ।
बुटवल टेक्निकल इन्स्टिच्युटका प्रवन्ध निर्देशक अभिमन्यु पन्थीले ६० बर्षे इतिहासमा बिटिआइबाट एक हप्तादेखि ४ बर्षे तालिम सञ्चालन गर्दै आएको जानकारी गराउदै यहाँ तालिम लिएकाहरू एकाध बाहेक सबै राेजगार भएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष नरिश्वर शर्मा,बुटवल टेक्निकल इन्स्टिच्युटका तालिम अधिकृत मनाेज भट्टराईलगायतले तालिमको उदेश्य र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।
बुटवल उपमहानगरपालिकाकाे आयोजना र बुटवल टेक्निकल इन्स्टिच्युकाे प्राविधिक सहयोगमा सञ्चालित तालिममा ४० जना महिलाहरूकाे सहभागीता रहेको छ ।
यसैबीच नयाँ तालिमको सुरूवातकै अवसरमा यसअघि १० महिने हाउस वायरिङ तालिम लिएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो ।








