काठमाण्डौ,२६ जेठ ।
प्रधानमन्त्री कप एनभीए भलिबलमा पुरुषतर्फको उपाधि हेल्प नेपालले हातपारेकाे छ । शनिबार राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराएको हो । पहिलो सेटमा हेल्प नेपाल, दोश्रो सेटमा गण्डकी र तेश्रो सेटमा हेल्प नेपाल विजयी भएको हो ।

यस्तै महिलातर्फ भएको फाइनल खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–२ को सेटमा हराएर उपाधि जितेको छ । पहिलो दुई सेट पुलिसले जितेको थियो । त्यसपछि लगातार दुई सेटमा एभरेष्टले पुलिसमाथि जित निकाल्यो । अन्तिम तथा निर्णयक सेटमा पुलिसले एभरेष्टलाई १५–१२ ले जित्यो ।

यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लब महिलातर्फ तेस्रो भएको छ । आज भएको खेलमा नेपाल आर्मीलाई ३–० को सेटमा हराएर एपीएफ तेस्रो भएको हो । पुरुषतर्फ नेपाल पुलिस क्बल तेस्रो भएको छ । पुलिसले त्रिभुवन आर्मीलाई ३–२ को सेटमा हराएर तेस्रो भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली सहभागी थिए । पुरुष र महिला दुबैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाएका छन् ।